स्टार कराते खेलाडी एरिका गुरूङले इटलीमा हुने वल्ड कराते च्याम्पियनसिप क्याडेट जुनियर यु-२१ मा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

उनलाई आज राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरे। पछिल्लो एकवर्षको खेल यात्रा एरिकाको लोभलाग्दो छ। खेलेको सबै अन्तराष्ट्रिय प्रतियोगितामा पदक जितेकी छिन्।

१९औं एसियाली खेलकुदमा रजत पदक जितिन्। जुन पदक ऐतिहासिक थियो। एसियाली खेलकुदमा व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी बनेकी थिइन्।

यसपछि अन्य अन्तराष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी एरिकाले अर्को चमत्कारिक प्रदर्शन एकेएफ सिनियर कराते च्याम्पियनसीपमा रजत पदक जितिन् । जुन नेपालले सो प्रतियोगितामा जितेको पहिलो पदक समेत बन्यो।

५ वटा अन्तराष्ट्रिय प्रतियोगितामा ८ वटा पदक जितेकी एरिका र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई सबै अन्तराष्ट्रिय प्रतियोगिता र प्रशिक्षणका लागि लाग्ने सम्पूर्ण खर्च राखेपले बेहोर्ने सदस्य सचिव घिसिङले बिदाइ कार्यक्रममा जानकारी गराए।

एरिकाले राखेपको यो निर्णयप्रति आभार व्यक्त गरिन्। चीनबाट रजत जितेर आएपछि आराम नगरी निरन्तर प्रशिक्षणमा लागेको र कमी कमजोरीहरु सुधारेको बताइन्। उनले सकेसम्म पदक जित्न कोशिश गर्ने पनि बताएकी छिन्।

प्रशिक्षक श्रेष्ठले यो एक स्तरको माथिल्लो प्रतियोगिता हो। यो पटक युरोपियन खेलाडीहरूको सामना हुने र सिकाइको लागि उत्कृष्ट मौकाको रूपमा लिएको बताए।

इटलीको भेनिसमा हुने च्याम्पियनसिपमा एरिकाले यु-२१ तर्फ ६८ केजी माथीको तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन्।

च्याम्पियनसिपमा १ सय १३ राष्ट्रका १ हजार ९ सय ९५ खेलाडीको सहभागिता रहनेछ। एरिकाको खेल असोज २३ गते हुनेछ। च्याम्पियनसिप असोज २७ गतेसम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *