स्कटल्यान्डमाथि नेपालको सहज जित

२०८१, १४ कार्तिक बुधबार ०८:२६

आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।

लिगमा नेपालले करिब आठ महिनापछि जित निकालेको हो । यसअघि नेपालले खेलेका ९ मध्ये एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध त्रिवि क्रिकेट मैदानमा थियो ।

अमेरिकाको ड्यालसमा टस हारेर ब्यिाटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो । जवाफमा नेपालले उक्त लक्ष्य २९.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले । त्यस्तै गुल्सन झा २५ रनमा अविजित रहे । अनिल साहले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए। कुशल भुर्तेलले २५ रन बनाएका थिए ।

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले २ विकेट लिएका थिए भने ब्राड क्युरी, मार्क वाट र ज्याक जार्भीसले समान १- १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव ४ ओभरमा १ सय ५४ रन बनाएर अलआउट भएको थियो। उसका लागि मार्क वाटको ३४ रन सर्वाधिक रह्यो ।

उनी बाहेक माइकल जोनेस र कप्तान रिचि बेरिङटनले १९- १९ रन बनाए। ब्रान्डन म्यामुलनले १६ रन बनाउँदा माइकल लिस्कले १४ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २- २ विकेट लिए। यस शृङ्खलामा नेपाल अमेरिका र स्कट्ल्यान्डसँग २-२ खेल खेल्दै छन् ।

आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । नेपालले शनिबार अमेरिका र सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका छ । १० खेल खेलेको नेपालको यो दोस्रो जित हो । नेपालको ५ अंक भएको छ भने तालिकाको ७ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *