नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारीले घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणका सुरुवाती दुई खेल गुमाउने भएकी छिन् ।
हाल फ्रान्सको शीर्ष महिला लिगअन्तर्गत एना भान गुइनगाम्पममा आबद्ध सावित्राले क्लबबाट प्रतियोगिताका लागि अनुमति नपाउँदा सुरुवाती २ खेल गुमाउने भएकी हुन् । उनी भुटान र माल्दिभ्ससँगको खेलका लागि उपलब्ध नहुने भएकी हुन् ।
सावित्रा सम्मिलित टोली गुइनगाम्पमले असोज २६ गते फ्लुरिया र कार्तिक ३ गते स्ट्रासबर्गसँग खेल्नुपर्ने भएकाले उनले एनओसी प्राप्त गर्न नसकेकी हुन् ।
फिफाको अक्टोबर विन्डो कार्तिक ५ देखि सुरु भएर १४ गतेसम्म चल्नेछ । च्याम्यिनसिप फिफा विन्डोभन्दा पहिला नै सुरु हुने भएकाले सावित्रा केही ढिला गरेर टिममा सामेल हुने भएकी हुन् । क्लबले सावित्रालाई फिफा विन्डोका दौरान मात्र बिदा दिनेछ ।
दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुनेछ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।
च्याम्पियनसिपको पहिलो खेल कात्तिक १ गते भारत र पाकिस्तानबीच हुनेछ । घरेलु टोली नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । ५ गते माल्दिभ्ससँग खेल्ने तालिका छ । समूहको अन्तिम खेलमा ८ गते नेपालले श्रीलंकासँग खेल्नेछ ।
नेपाल हाल प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २७ खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । अन्तिम टोली छनोट हुन भने बाँकी छ ।
