काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछन् ।
आज पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच हुँदैछ । दशरथ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि शुरु हुने छ । त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच हुदै छ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि शुरु हुनेछ ।
भुटानविरुद्ध लगातार गोल गर्दै आएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी छन् । यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन् । साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ ।
प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् । नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।
नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।
