पथरी | क्रिकेट प्रतियोगीतामा प्रयोग हुने बल ड्युज हुनु पर्ने मान्यता छ तर पुर्वी मोरङ्गमा आयोजना हुने अधिकांश प्रतियोगीतामा ड्युज क्रिकेट बलको सट्टामा टेनिस बलको प्रयोग हुँदै आएको छ ।
पुर्वी मोरङ्गका क्रिकेट मैदानमा क्रिकेट खेलाडीले टेनिस बललार्ई व्याटले हिर्काइरहेका हुन्छन् । उपयुक्त क्रिकेट मैदानको अभावमै क्रिकेटका प्रतियोगीतामा टेनिस वलको प्रयोग गर्नु पर्ने वाध्यता रहेको क्रिकेट प्रतियोगीताका आयोजकहरु बताउछन् ।
क्रिकेट बलमा टेनिस बलको प्रयोगले खेलको ‘प्यासन’ मात्र मेटिने खेलाडीहरुको भनाइ छ । ‘रियल क्रिकेट नभएपनि टेनिस बलबाटै प्रतियोगीता सञ्चालन भइरहेको छ ’ पथरीशनिश्चरेका खेलाडी डिवि कार्की भन्छन् ‘क्रिकेटको स्तर वृद्धि गर्न त ड्युज नै बल प्रयोग गर्नु पर्दछ ’।
खेल मैदानको अभाव र अन्य प्राविधिक कठीनाइका कारण पनि प्रतियोगीतामा टेनिस बलको प्रयोग हुँदै आएको छ । यसले खेलाडीको खेल प्रतिको लगाव बडाएपनि राष्ट्रिय स्तरका छनौटमा समस्या हुने गरेको छ । खेलाडीले टेनिस बलमै अभ्यास गर्दा ड्युज बलमा कसरी खेल्ने भन्ने भेउ नपाउने पथरीकै पुर्व क्रिकेट खेलाडी रमेश कार्की बताउछन् ।
चौथो संस्करणको प्रतियोगीता आयोजना गरिरहँदा समेत मोरङ्गको पथरीशनिश्चरे प्रिमियर लिगमा भने क्रिकेट बलका रुपमा टेनिस बलकै प्रयोग हुँदै आएको छ । टेनिस बलमै प्रतियोगीता गराउन बाध्य छौं आयोजकका सचिव राकेश राईले बताए ।
उपयुक्त खेल मैदानको अभावमा फुटबल मैदानलाई क्रिकेट मैदानका रुपमा अस्थाइ रुपमा प्रयोग गरेर प्रतियोगीता गराउन लागेको आयोजकका अध्यक्ष बिरोज मगरले बताए । पथरीशनिश्चरेमा क्रिकेटका लागि मैदान नै छैन् । भएका केहि मैदानहरु फुटबल प्रतियोगीता गर्न प्रयोग हुँदै आएका छन् ।
क्रिकेट प्रतियोगीतामा ड्युज बलका लागी आवश्यक पर्ने आउट फिल्ड, क्रिजको अभावमा पनि ड्युज बलको सट्टामा टेनिस बलकै प्रयोग गर्नु पर्ने बाध्यता रहेको आयोजकको भनाइ छ ।
मैदान मागका लागि पटक-पटक स्थानिय सरकार संग आग्रह गरे पनि मैदान प्राप्ति हुन नसकेको उनीहरुको भनाई छ । स्थानिय खेलाडी उत्पादनका लागि सञ्चालन हुने यस्ता प्रतियोगीताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग गरे पनि ‘रियल’ क्रिकेटको ड्युज बलको प्रयोग नगर्दा भने स्तर वृद्धि नहुने निस्चित प्राय छ । टेनिस बलमा अभ्यास गरेका कतिपय खेलाडीले ड्युज बलमा आफ्नो खेल कौशल प्रस्तुत गर्न पनि सक्दैन । नयाँ खेलाडीका लागी मैदानको अभाव हटाउन सके नेपाली क्रिकेटमा खेलाडी उत्पादन र नयाँ लगानी भित्राउन पनि सहज हुने विश्वास लिन सकिन्छ ।
