अमेरिकामा विश्वकप क्रिकेट लिग २ खेलिरहेको नेपालको आईसीसी ओडीआई वरीयता सुधारिएको छ ।
आईसीसीले पछिल्लोपटक सार्वजनिक गरेको वरीयताअनुसार नेपाल एक स्थान सुधार गरी १८ वाट १७ औंमा आइपुगेको छ । जारी लिगमा नेपाल पहिलो खेलमा घरेलु टिम अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा मंगलबार राति स्कटल्यान्ड्सलाई पराजित गरेको थियो ।
टिमको वरीयता सुधार भए पनि खेलाडीको वरीयता भने मिश्रित छ । ब्याटिङतर्फ टप सयभित्र नेपालका तीन जना मात्र छन् । सबैभन्दा राम्रो स्थानमा रहेका ओपनर आसिफ शेख ८ स्थान सुधार गरी ७४ औं स्थानमा आइपुगेका छन् । यस्तै कप्तान रोहित पौडेल ११ स्थान सुधार गरी ७७ औं स्थानमा छन् भने अर्का ओपनर कुशल भुर्तेल तीन स्थान खस्केर ८३ औं स्थानमा छन् ।
बलिङतर्फ ललित राजवंशी चार स्थान सुधार गरी ५० औं स्थानमा भने भने सन्दीप लामिछाने तीन स्थान खस्केर ५३ औं स्थानमा छन् । यस्तै दीपेन्द्रसिंह ऐरी २ स्थान झरेर ६६, सोमपाल कामी २ स्थान सुधार गरी ८७, करण केसी ३ स्थान झरेर ९० औं स्थानमा छन् ।
यस्तै अलराउन्डरतर्फ सन्दीप लामिछाने ३ स्थान झरेर ४४ औं स्थानमा र दीपेन्द्रसिंह ऐरी २ स्थान झरेर ५२ औं स्थानमा छन् । स्मरण रहोस् ऐरी टी २० आई अलराउन्डरतर्फ दोस्रो स्थानमा छन् । यस्तै अलराउन्डरतर्फ कुशल मल्ल एक स्थान झरेर ५४, सोमपाल कामी ५६ यथावत, करण केसी ६ स्थान खस्केर ८०, ललित राजवंशी ५ स्थान सुधारेर ८९ र गुल्सन झा ९ स्थान झरेर ९७ औं स्थानमा छन् ।
