फिफा विश्वकप २०२६ को तेस्रो चरणको एसियाली छनौटतर्फ समूह चरणको चौथो खेलहरुमा केही बलिया टोलीहरुले जित हात पार्दा केही टोलीहरु भने बराबरीमा रोकिएका छन् ।
समूह ए तर्फ अपराजित रहेको दावेदार इरानले कतारमाथि ४-१ को जित निकाल्यो भने उज्वेकिस्तानले युएई र किर्गिस्तानले उत्तर कोरियामाथि समान १-० को जित दर्ता गरे ।
यो नतिजापछि ४ खेलबाट समान १०-१० अंक जोडेका इरान र उज्वेकिस्तान समूह ए तर्फ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ४-४ अंक जोडेका युएई र कतार क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पहिलो जित हात पारेको किर्गिस्तान ३ अंकका साथ पाँचौं स्थानमा रहँदा २ अंक जोडेको उत्तर कोरिया पुछारतिर छैठौं स्थानमा छ ।
त्यस्तै समूह बी तर्फ अपराजित दक्षिण कोरियाले इराकलाई ३-२ ले हराउँदा जोर्डनले ओमानमाथि ४- ० को एकतर्फी जित निकाल्यो । त्यस्तै प्यालेस्टाइन र कुवेतले भने २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।
यो नतिजापछि समूह बी तर्फ ४ खेलबाट १० अंक जोडेको दक्षिण कोरिया समूहको शिर्ष स्थानमा यथावत छ । समान ७-७ अंक जोडेका जोर्डन र इराक
क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ३-३ अंक जोडेका ओमान र कुवेत क्रमशः चौथो र पाँचौं स्थानमा रहँदा २ अंकका साथ प्यालेस्टाइन पुछारको छैठौं स्थानमा छ ।
त्यसैगरी समूह सी तर्फ दुई बलिया टोली जापान र अष्ट्रेलियाले १-१ गोलको बराबरी खेले । अर्को खेलमा चीनले इण्डोनेसियालाई २-१ ले हराउँदा साउदी अरेबियाले बहराईनसँग गोलरहित बराबरी खेल्यो ।
यो नतिजापछि अपराजित नै रहेको जापान ४ खेलबाट १० अंकका साथ समूह सी को शिर्ष स्थानमा कायम छ । समान ५-५ अंक जोडेका अष्ट्रेलिया, साउदी अरेबिया र बहराईन क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । त्यस्तै ३-३ अंक जोडेका इण्डोनेसिया र चीन क्रमशः पाँचौं र छैठौं स्थानमा छन् ।
छनौट प्रतियोगिता अन्तर्गत अब पाँचौं र छैठौं चरणका खेलहरु नोभेम्बर १४ र १९ तारीखका दिन हुनेछन् ।


