बेलबारी | झापा ११ फुटबल क्लब बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा भोजपुर फुटबल क्लवलाई ३-० ले हराउँदै झापा ११ ले अन्तिम चारको यात्रा तय गरेको हो । झापाको जितमा निरज कार्कीले १ गोल र प्रदीप बुढाथोकीले २ गोल गरे ।
खेल सुरु भएको पहिलो मिनेटमै झापाका निरज कार्कीले भोजपुर बिरुद्ध गोल गरे। निरजले पोष्टमा प्रहार गरेको बल भोजपुरका खेलाडी सन्जय लिम्बूले गोललाइनबाट ब्याक पास गरेका थिए। तर, उक्त बललाई निरजले नियन्त्रणमा लिई सिंधै गोलपोष्टको जालि चुमाए। मध्यान्तर अघि १-० ले अग्रता कायम गरेको झापाले ७५ औं मिनेटमा १ गोल थप्यो ।
झापाका प्रदीप बुढाथोकीले मैदानको मध्यभागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। अतिरिक्त समयमा झापाका प्रदीप बुढाथोकीले थप १ गोल गर्दै टिमको सेमिफाइनल यात्रा तय गराएका थिए ।
आजको खेलमा झापाका निरज कार्की प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ५ हजार र ट्रफि प्राप्त गरे ।
सोमबार प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल चित्लाङ फुटबल क्लव काठमाडौं र राजारानी फुटबल क्लव धनकुटा बिच खेल हुनेछ । प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।
