कर्णालीको लगातार दोस्रो जित

२०८१, १५ आश्विन मंगलवार १९:४६

कर्णाली यसभिसले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द् (राखेप) कभर्डहलमा मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थन्डर्सविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।

पहिलो सेटमा गण्डकीले २५-१५ को सहज जित निकालेको थियो । त्यसपछिका दुई सेट २५-२२, २५-१७ ले आफ्नो पक्षमा पार्दै कर्णालीले २-१ को अग्रता लियो ।

चौथो सेटमा गण्डकी २५-१९ ले विजयी भएपछि खेल लम्बियो । पाँचौं तथा निर्णायक सेटमा १५-१२ को जित निकाल्दै कर्णालीले विजयी यात्रा कायम राख्यो ।

जितसँगै कर्णालीले दुई खेलमा पाँच अंक जोडेको छ । दुवै खेलमा पराजित गण्डकीको एक अंक छ ।

पहिलो खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गरेको हो। यता गण्डकी चितवन शक्तिसँग ३-१ सेटमै पराजित भएको थियो ।

आजको दोस्रो खेलमा काठमाडौं स्पाइकर्स र चितवन शक्ति तथा तेस्रो खेलमा ललितपुर क्विन्स र मधेश युनाइटेडबीच खेल हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *