एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइज युनाइटेडले लाकेन लिम्बुलाई अनुबन्ध गरेको छ ।क्लबले बिहीबार सामाजिक सञ्जालमार्फत मिडफिल्डर लाकेन लाई अनुबन्ध गरेको जानकारी दियो ।
यसअघि क्लबले गोलकिपर दीप कार्की, फरवार्ड अञ्जन विष्ट, मिडफिल्डर एरिक विष्ट, विंगर आयुश घलान र रक्षक सनिश श्रेष्ठलाई अनुबन्ध गरेको थियो । यसैगरी क्लबले तीन विदेशी खेलाडीलाई पनि भित्र्याउने प्रयास भइरहेको बताएको छ।
टोलीको कप्तानमा अनन्त तामाङ छन् । क्लबले खेलका लागि प्रशिक्षण पनि सुरु गरिसकेको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले दशरथ रंगशालामा भुटानको पारो एफसीको सामना गर्दैछ । अगस्ट १३ मा हुने यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ। मुख्य प्रतियोगिताको खेल अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछ।
प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ।
