अखिल नेपाल फुटबल संघको सातौं कार्य समितिको बैठक बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा कार्य समितिको बैठक सम्पन्न भएको हो ।

एन्फा कम्प्लेक्सबाट भएको भर्चुअल बैठकमा नेम्वाङका अलावा उपाध्यक्ष दीपक खतिवडा र दावा लामा, महासचिव किरण राई, पूर्व सहसदस्य महेन्द्र क्षेत्री, मनिष जोशी, पुरुषोत्तम थापालगायत सहभागी थिए भने टीका लामा, मणिराज विष्ट, भरत बुद्ध थापा, विकास नारायण श्रेष्ठ, सरिला श्रेष्ठ मलेकु, पेमा डोल्मा लामा र दीपेन्द्र धिमाल आ-आफ्नो ठाउँबाट सहभागि भएका थिए।

बैठकमा बजेट र एन्फा महिला लिगको मोडालिटीबारे छलफल भएको थियो । एन्फाका महासचिव किरण राईले लिग सम्बन्धमा विभिन्न सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए।

बैठकले २०२४ को महिला लिगमा १० टिमलाई सहभागि गराउने निर्णय गरेको छ । जसमा एन्फा महिला लिग छनोट २०२४ का उत्कृष्ट तीन टिम (कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश), तीन विभागीय टिम (त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब), ए, बी र सी डिभिजन क्लबबाट २ टिम (सकटा क्लब, बाग्मती युथ क्लब) तथा नगरपालिकाका २ टिम (वालिङ्ग नगरपालिका र चन्द्रपुर नगरपालिका) रहेका छन्।

सिङ्गल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा कुल ४५ खेल संचालन हुनेछ । सिङ्गल राउन्ड रोविनबाट उत्कृष्ट पाँच टिमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुनेछ । सुपर लिगका उत्कृष्ट चार टिमबीच क्वालिफायर, एलिमिनेटर र फाइनल ४ खेल गरि कुल ६९ खेल हुनेछ ।

बैठकले एन्फा महिला लिग २०२४, २०२५ र २०२६ को लागि निम्न बमोजिमको बजेट समेत पारित गरेको छ । जसमा एन्फा महिला लिग २०२४ का लागि २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ पारित गरेको छ ।

एन्फा महिला लिग २०२५ छनौटका लागि ८१ लाख ७३ हजार ५ सय ७१ रुपैयाँ, एन्फा महिला लिग २०२५ संचालनका लागि २ करोड ५२ लाख ७२ हजार ७ सय ९५ रुपैयाँ, एन्फा महिला लिग २०२६ छनौटका लागि ९१ लाख ९३ हजार २ सय १४ रुपैयाँ र एन्फा महिला लिग २०२६ संचालनका लागि २ करोड ५६ लाख ५५ हजार २ सय ९५ रुपैयाँ बजेट पारित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *