मनाङ मर्स्याङदी क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार मनाङले त्रिभुवन आर्मी क्लबविरुद्ध १-० को जित निकाल्यो ।
समन हटुवालले ८९औं मिनेटमा गरेको एक मात्र गोल मनाङको जितमा निर्णयक बन्यो । अमृत बत्स्यालको प्रहारलाई आर्मीका गोलकिपर रामबहादुर बोहराले बचाए पनि रिबाउन्डलाई समनले पोस्टको दिशा दिएका थिए ।
जितसँगै मनाङले दुई खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित आर्मी अंकविहिन छ । पहिलो खेलमा मनाङ संकटा क्लबलाई १-० ले पराजित गर्दा आर्मीले मछिन्द्र क्लबसँग १-० कै हार ब्यहोरेको थियो ।
शुक्रबार नै सम्पन्न अर्को खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग २-२ को बराबरीमा राकिएको थियो ।
