नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जितविहीन रहँदै पेरिस ओलम्पिक २०२४ बाट बाहिरिएका छन्।

मेन्स सिंगल्सतर्फ समूह ‘पी’ को आफ्नो अन्तिम खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सेटमा पराजित भएका हुन्।

पहिलो सेटमा प्रिन्स १२-२१ ले पराजित भए। यो सेट १६ मिनेट चेलेको थियो। २० मिनेटको दोस्रो सेट पनि प्रिन्सले १०-२१ ले गुमाए। प्रिन्स पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग २-० को सेटमा पराजित भएका थिए। डेनमार्कका भिक्टरविरुद्ध उनले पहिलो सेट २१-८ ले गुमाए। दोस्रो सेटमा पनि उनी २१-६ ले पराजित भए।

दोस्रो खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१-७ र २१–५ को सेटमा पराजित गरे।

प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए। योसँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी सातमध्ये ६ नेपाली खेलाडी बाहिरियका छन्।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह बाहिरिइसकेका छन्। अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *