ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा हात्तिमुढा स्पोर्टिङ क्लब, हात्तिमुढा, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार नडियाटोकको खेल मैदानमा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा बिराट स्पोर्ट्स एकेडेमी, विराटनगर, मोरङलाई २-१ गोल अन्तरले पराजित गर्दै हात्तिमुढाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
हात्तिमुढाको जितमा बिक्रम बुढाथोकी र पारश माझीले समान १-१ गोल गरे । बिराटका लागि एक मात्र गोल पंकज रोयले पेनाल्टीमार्फत गरे ।
खेलको म्यान अफ दि म्याच हात्तिमुढाका बिक्रम बुढाथोकी घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
आजको खेलको प्रमुख अतिथि पूर्वाञ्चल कलेज अफ साइन्स एण्ड टेक्नोलोजी प्रा.लि.,विराटनगरका प्रोपाइटर रुपेश झा रहनु भएको थियो ।
प्रतियोगिता अन्तर्गत आइतबार हुने तेस्रो क्वार्टरफाइनल खेल जिल्ला प्रहरी कार्यलय, विराटनगर, मोरङ र तालतलैया ब्वाइज फुटबल क्लब, इटहरी, सुनसरीबीच हुनेछ ।
दिप ज्योति युवा क्लब, ग्रामथान-१, लखन्तरी, मोरङको आयोजना तथा ग्रामथान गाउँपालिकाको सहयोगमा जारी प्रतियोगितामा ८ टोलिले भाग लिएका छन् । प्रतियोतिगाको विजेताले नगद ५१ हजार र उप विजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।
