स्टार खेलाडीद्वय लियोनल मेसी र लुइस स्वारेजबिनै इन्टर मियामीले अमेरिकी लिग सकरमा जित निकालेको छ । आइतबार बिहान भएको खेलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई २-१ ले हरायो ।
सुबारुक पार्कमा भएको घरेलु टोलीले अग्रता बनाएपछि ९ खेलाडीमा सिमित मियामी पुनरागमन जित निकाल्न सफल भएको हो । मियामीको जितमा जुलियन ग्रेसल र लिओ अफोन्सोले गोल गरे ।
जितपछि मियामीले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । टोलीले १९ मध्ये ११ जित निकाल्दै ३८ अंक जोड्यो । एक खेल कम खेलेको रियाल साल्ट लेक ३४ अंकसहित दोस्रो स्थानमा छ । पराजित फिलाडेल्फिया २० अंकसहित १७औं स्थानमा रह्यो ।
यसअघि खेलको तेस्रो मिनेटमै माइकल उरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । दोस्रो हाफमा मियामीले पुनरागमन गर्यो ।
ग्रेसलले ४७औं मिनेटमा बराबरी गोल गरे । बेन्जामिन क्रेमास्चीले बक्स भित्रबाट मिलाएको पासलाई अनमार्क रहेको उनले उत्कृष्ट गोल गरेका थिए ।
६९औं मिनेटमा डेविड ओचो र ८४औं मिनेटमा थोमस एभिलेसले रातो कार्ड पाउँदा मियामी दबाबमा आएको थियो । तर, काउन्टर अट्याकमा अफोन्सोले गोल गर्दै मियामीको जित निश्चित गरेका हुन् ।
हाल मेसी र स्वारेज कोपा अमेरिकाको तयारीमा छन् । कप्तान सर्जियो बुस्क्वेट र जोडी अल्बा भने टोलीको साथ थिए ।
