टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ । सोमबार समूह डी अन्तर्गतको खेलमा टोलीले बंगलादेशलाई ४ रनले हराएको हो ।

नासाउ काउन्टी मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९ मात्र बनाउन सक्यो ।

जितसँगै दक्षिण अफ्रिका जारी टि-२० बिश्वकपको सुपर आठमा पुग्ने पहिलो टोली बनेको छ । हाल सम्म तीन खेल खेलिसक्दा टोलीले एक खेल पनि हारेको छैन । ३ खेलमा ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा रहेको छ । बंगलादेशले भने दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । टोली २ अङ्कसहित दोस्रो स्थानमा छ ।

बंगलादेशका लागि तोहिद हदोयले सर्वाधिक ३७ रन बनाए । ३४ बलमा उनले २ चौका र २ छक्का प्रहार गरे । अन्तिम ओभरमा आउट हुनअघि मोहम्मदुल्लाहले २७ बलमा २० रन जोडे । उनले दुई चौका प्रहार गरे । कप्तान नजमुल होसेन सान्तोले २३ बलमा १४ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ विकेट हात पारे । कागिसो रबाडा र एनरिच नोर्टजेले २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १३ रन बनाएको थियो ।

टोलीका लागि हेनरिच क्लासेनले सर्वाधिक ४६ रनको योगदान दिए । ४४ बलको सामना गर्दै उनले २ चौका र ३ छक्का प्रहार गरे । डेभिड मिलरले ३८ बलमा २९ रन जोडे भने क्वीन्टन डी ककले ११ बलमा १८ रन बनाए । अन्य ब्याटरले दोहारो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशका लागि तान्जिम हसन साकिबले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए । तास्किन अहमदले २ तथा रिसाद होसेनले १ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *