सुनसरी ‘बी’ डिभिजन जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मित्र मिलन क्लब र युवा जागृती क्लब बिजयी हुँदै सुनसरी ‘ए’ डिभिजन लिगमा बढुवा भएका छन् ।
एन्फा एकेडमी धरानको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा धरानको मित्र मिलन क्लबले खनारको रेड स्टार क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । खेलको म्यान अफ दि म्याच मित्र मिलन क्लबका सरोज राई घोषित भए । उनले नगद १ हजार सहित ट्रफी प्राप्त गरे ।
त्यसैगरी दोस्रो खेलमा धरानको युवा जागृती क्लबले इनरुवाको मितेरी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गर्ने दोस्रो टोली बन्यो । खेलको म्यान अफ दि म्याच युवा जागृती क्लबका अदित राई घोषित भए । उनले नगद १ हजार सहित ट्रफी प्राप्त गरे ।

फाइनलमा स्थान बनाएका दुबै टोली मित्र मिलन क्लब र जागृती क्लब ए डिभिजन लिगमा बढुवा भए । फाइनल खेल बिहीवार हुनेछ ।
प्रतियोगिताको बिजेताले २० हजार नगद पुरस्कार पाउँदा उपबिजेता टिमले १० हजार रुपैंया पुरस्कार प्राप्त गर्नेछन् ।
