महावीर क्लबविरुद्ध ४-१ को सहज जित निकाल्दै स्वयम्भू क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको रेलिगेशन जोन बाहिर निस्किएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार स्वयम्भूलाई जित दिलाउन रञ्जन पुनले दुई तथा राजिब श्रीशमगर र मुन्ना चौधरी थारुले एक गोल गरे । महावीरका लागि सन्दीप श्रेष्ठले एक गोल फर्काए ।

जितसँगै ११ खेलमा १० अंक जोडेको स्वयम्भू १०औं स्थानमा उक्लिएको छ । पराजित महावीर समान खेलबाट १० अंकका साथ ११औं स्थानमा झरेको छ ।

यो नतिजासँगै ११ खेलमा आठ अंक जोडेको रानीवन स्पोर्टस क्लब भने रेलिगेशन जोन तर्फ धेकेलिएको हो ।

पहिलो हाफको इन्जुरी समयमा रञ्जनको गोलमार्फत स्वयम्भूले अग्रता लियो । राजिवले ६७औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले रञ्जनको क्रसलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे ।

तीन मिनेटपछि नै रञ्जनले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । उनले राजिवको पासलाई पोस्टको दिशा दिए ।

सन्दीपले ८४औं मिनेटमा गरेको गोल महावीरका लागि सान्त्वना गोल गरे । ९०औं मिनेटमा मुन्नाले गोल गर्दै स्वयम्भूलाई ४-१ को सहज जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *