धनकुटामा जारी भीमनारायण गोल्डकपको आजको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ विजयी हुँदै फाइनल प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति क्लव सुनसरीलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधिनजिक पुगेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको मध्यान्तरपछि आक्रामक रुपमा प्रस्तुत भएको एपीएफले राष्ट्रिय जागृतिलाई दबावमा राख्न सफल भएको थियो । दुवै टिमले केही अवसरहरु पाए पनि त्यसलाई गोलमा परिणत गर्न भने सकेनन् ।

खेलको म्यान अफ द म्याच एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ चुनिए । उनले नगद ५ हजार ५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

भोलि शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलमा झापाको बिर्तामोड युनाइटेड क्लब झापा र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानको टिमबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *