बायर लेभरकुसेन र एटलान्टा युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् ।
विहिवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेलमा बायर लेभरकुसेनले रोमासंग २-२ समग्रमा ४-२ को जितका साथ र एटलान्टाले मर्सेलेमाथि ३-० समग्रमा ४-१ को जितसहित युरोपा लिगको फाइनलमा प्रवेश गरेका हुन् ।
जर्मन क्लब लेभरकुसेनको घरेलु मैदान बायएरिना रंगशालामा भएको खेलमा घरेलु टोलीले दुई गोलले पछि परेको स्थितिलाई उल्त्याउँदै बराबरी खेल्यो ।

पहिलो हाफको ४३ औं मिनेटमा लियान्ड्रो परेदेशले पेनाल्टीमा गोल गर्दा इटालियन क्लब रोमा १-० ले अघि बढ्दा समग्रमा खेल २-१ मा आयो ।
त्यसपछि दोस्रो हाफको ६६ औं मिनेटमा परेदेशले पेनाल्टीमा दोस्रो गोल थप्दा खेलमा रोमा २-० ले अघि बढ्दा समग्रमा खेल २–२ को बराबरीमा आयो । तर, ८२ औं मिनेटमा रोमाका जियान्लुका मान्चिनीले आत्मघाती गोल गर्न पुग्दा खेल २-१ को अवस्थामा आउँदा समग्रमा लेभरकुसेन ३-२ ले अघि बढ्यो ।
यता, इन्जुरी समयको सातौं मिनेटमा ग्रान्ट छाकाको पासमा जोसिप स्टानिसिकले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २-२ ले सकिँदा समग्रमा लेभरकुसेन ४-२ ले विजयी भयो ।
त्यसअघि रोमाको घरेलु मैदानमा भएको सेमिफाइनल अन्तर्गत पहिलो लेग खेलमा लेभरकुसेनले २-० ले विजयी भएको थियो ।
यता, विहिवार राति नै एटलान्टाको घरेलु मैदान गिविस रंगशालामा भएको अर्को सेमिफाइनल खेलमा एटलान्टाले मर्सेलेलाई ३-० समग्रमा ४-१ को जित निकाल्यो ।

खेलको ३० औं मिनेटमा अडेमोला लुकम्यानको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता लिँदा समग्रमा एटलान्टा २-१ ले अघि बढ्यो ।
त्यसपछि दोस्रो हाफको ५२ औं मिनेटमा लुकम्यानको पासमा माटेओ रुग्गेरीले गोल गर्दा इटालियन क्लब २-० समग्रमा ३-१ ले अघि बढ्यो । यता, इन्जुरी समयको चौथौं मिनेटमा इल टाउरेले गोल थप्दा एटलान्टा ३-० समग्रमा ४-१ ले विजयी भयो ।
सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा एट्लान्टा र मर्सेलेले १-१ को बराबरी खेलेको थियो ।
अब युरोपा लिगको उपाधिका लागि बायर लेभरकुसेन र एटलान्टाले मे २३ तारिखमा फाइनल खेल खेल्नेछ ।
