सन् २०२७ को महिला विश्वकप ब्राजिलले आयोजना गर्ने भएको छ। ब्राजिलसँगै संयुक्त युरोप (जर्मनी, नेदरल्यान्ड्स र बेल्जियम) ले दावेदारी प्रस्तुत गरेका थिए।

तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पूर्ण सदस्यताको मतले ब्राजिलले विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो। बैंककमा भएको १७ औं फिफा कंग्रेसमा ब्राजिलले ११९ मत प्राप्त गर्यो। यस्तै, संयुक्त युरोपले भने ७८ मत मात्रै प्राप्त गर्यो।

मेक्सिको र संयुक्त राज्य अमेरिकाले गत महिना आफ्नो दावेदारी फिर्ता लिएका थिए। युएस सकरले सन् २०३१ को प्रतियोगिता आयोजना गर्न आफू मातहतका सबै संघ केन्द्रित हुने जनाएको छ। दक्षिण अफ्रिकाले पनि सन् २०३१ मा फर्कने भन्दै गत वर्षको अन्त्यमा आफ्नो दावेदारी फिर्ता लिएको थियो।

ब्राजिलले सन् १९५० र २०१४ मा पुरुष विश्वकप आयोजना गरेको थियो। महिला विश्वकप दक्षिण अमेरिकी मुलुकले कहिल्यै आयोजना गरेको छैन।

जर्मनीले सन् २०११ मा महिला विश्वकप आयोजना गरेको थियो। सन् २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्यूजिल्यान्डमा आयोजना गरिएको थियो। जुन पहिलो पटक दुई राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *