रक्षक सुजन चौधरीको ह्याट्रिकप्रेरित समाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार स्पोर्टस एकेडेमी साँगाविरुद्ध ५-० को फराकिलो जित निकालेको छ ।
सातादोबाटोस्थित एन्फा मुख्यालय मैदानमा समाज कल्याणलाई जित दिलाउन थप दुई गोल रोजल दाहालले गरे । जितसँगै ६ खेलमा ९ अकंक जोडेको सामाज कल्याण चौथो स्थानमा उक्लिएको छ । पराजित साँगा समान खेलबाट ९ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।
खेलको ११औं मिनेटमा सुजनको गोलमार्फत समाज कल्याणले अग्रता लियो । उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे । सुजलले फ्रिकिकमार्फत नै ३७औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ८१औं मिनेटमा रोजलले गोल गर्दा समाज कल्याण ३-० ले अगाडि बढ्यो ।
इन्जुरी समयमा सुजलले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गरे । साँगाका गोलकिपर सागर सुश्लिङले सुवेत लामालाई लडाएपछि समाज कल्याणले पेनाल्टीको अवसर पाएको थियो । जसमा सुजन चुकेनन् ।
जारी प्रतियोगितामा यो तेस्रो ह्याट्रिक हो । यसअघि समाज कल्याणकै रोशन क्षेत्री र पुल्चोकका सागर थिङले यो उपलब्धी हासिल गरेका थिए ।
इन्जुरी समयमै रोजलले ब्यक्तिगत दोस्रो गोल गर्दै समाज कल्याणलाई ५-० को सहज जित दिलाए । उनले मध्यभागबाट बल अगाडि बढाउँदै एकल प्रयासमा गोल गरेका थिए ।
