युरोपियन च्याम्पियन्स लिग फुटबलमा दोस्रो सेमिफाइनल खेलमा जर्मनीको क्लब बोरुसिया डर्टमुन्डले फ्रान्सको क्लब पिएसजीलाई पराजित गरेको छ ।

नेपाली समय अनुसार बुधबार बिहान भएको सेमिफाइनलको पहिलो लेगको खेलमा डर्टमुन्डले आफ्नो घरेलु मैदानमा पाहुना टोली पिएसजीलाई १-० को हराएको हो । पहिलो लेग जितेपछि अब डर्टमुन्ड फाइनल प्रवेशको दाबेदार बनेको छ ।

तर पिएसजीले दोस्रो लेग आफ्नो घरेलु मैदानमा खेल्दा नतिजा उल्ट्याउन सक्ने सम्भावना पनि छँदैछ । घरमा खेल्ने टोलीका लागि १ गोलको हार ठूलो हार नहुन सक्छ । आज जर्मन क्लब डर्टमुन्डले पहिलो लेग आफ्नो घरेलु मैदान सिग्नल इडुना पार्कमा खेल्ने क्रममा भ्रमणकारी टोली पिएसजीलाई पूरै दबाबमा राख्यो । खेलमा पकड पिएसजीले ज्यादा राखे पनि नतिजा भने डर्टमुन्डले निकाल्यो ।

डर्टमुन्डका लागि १ मात्रै गोल ३६औं मिनेटमा निकलस फुलक्रुगले गरेका थिए । त्यही गोलको अग्रता बचाएर डर्टमुन्डले पहिलो लेगमा १-० को जित पक्का गर्न सफल भयो । यस खेलमा पिएसजीले ५५ प्रतिशतभन्दा बढी बल पोसेसन राखेर डर्टमुन्डको पोस्टमा १३ सट प्रहार गर्दा पनि १ गोल गर्न सकेन ।

अब यी दुई टिम बीच फाइनल प्रवेशका लागि अर्को साता दोस्रो लेगको खेलमा निर्णायक भिडन्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *