झापा । बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३-० गोलअन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो।

विजेता बिर्तामोडले उपाधिसँगै नगद २ लाख हात पार्यो । मानेभन्ज्याङले १ लाखमा चित्त बुझायो । यसअघिको खेलमा महत्वपूर्ण दुई खेलाडी गुमाएको मानेभन्ज्याङले अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधिबाट बञ्चित रह्यो ।

खेलको ७औं मिनेटमा बिर्तामोडका डिफेण्डर देवेन्द्र तामाङले गरेको हेडर मानेभन्ज्याङका गोलरक्षकको हातबाट रिवाउन्ड भएको थियो । सो बललाई बिर्तामोडका अर्का डिफेण्डर बिशाल दर्जीले हेडमार्फत गोल गरेका थिए ।

खेलको २४औं मिनेटमा बिर्तामोडका अभिषेक गुरुङको क्रस पासलाई कप्तान आशिष चापागाईले गोल गर्न सफल भए । त्यसैगरी इन्ज्युरी समयमा चापागाईले नै विपक्षी गोलरक्षकसँग वान टु वानको अवस्थामा गोल गर्दै टिमको जित सुनिश्चित गरेका हुन् ।

खेलको प्लेयर अफ द म्याच विजेता बिर्तामोड युनाइटेडका विशाल दर्जी घोषित भए । उनले नगद तीन हजार रुपैंयाँ पुरस्कार पाए । प्रतियोगिताका उदीयमान खेलाडी आयोजक क्लबका पुजन थापा, उत्कृष्ट स्ट्राइकर बिर्तामोडका आशिष चापागाईं, उत्कृष्ट डिफेण्डर मानेभन्ज्याङका विरेन प्रधान भए ।

यसैगरी, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका योगेश गुरुङ, उत्कष्ट गोलरक्षक बिर्तामोडका सन्दिप लिम्बु, प्रतियोगिताको उत्कृष्ट खेलाडी बितामोडका देवेन्द्र तामाङ, उत्कृष्ट कोच बिर्तामोडका रमेश गुरुङ भए । उनीहरुले जनही नगद ५ हजार र ट्रफी पाए ।

प्रतियोगितामा भारतका दुईसहित आठ टिमको सहभागिता रहेको थियो । वैशाख १५ गतेदेखि सुरु भएको प्रतियोगिताको आगामी संस्करणलाई पनि निरन्तरता दिने आयोजक समितिका खेल संयोजक मनेष दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *