म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४-० को लज्जास्पद हार बेहोरेको हो ।

युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल भयो । यसअघि क्रिस्टल प्यालेसले १-० को जित निकालेको थियो ।

सेल्हस्ट पार्कमा खेलको १२औं मिनेटमा माइकल ओलिसेले गोल गर्दै क्रिस्टल प्यालेसलाई १-० को अग्रता दिलाए । उनले ड्यानियल मुनोजको पासलाई सदुपयोग गरे ।

४०औं मिनेटमा जिनफिलिप माटेटाले क्रिस रिचार्ड्सको पासमा गोल गरेपछि क्रिस्टल प्यालेस पहिलो हाफमा २-० ले अघि बढ्यो । ५८औं मिनेटमा टेरिक मिचेलले एडम व्हार्टनले गरेको उत्कृष्ट क्रसमा नजिकबाट ट्याप गर्दै क्रिस्टल प्यालेसलाई ३-० ले अघि बढाए ।

६६औं मिनेटमा ओलिसेले मुनोजकै पासमा गोल गर्दै युनाइटेडलाई ४-० को लज्जास्पद हार चखाए। पहिलो मिनेटदेखि नै ग्लासनरको टोली युनाइटेडविरुद्ध हावी देखिदा नतिजा पनि त्यही अनुसार निकाल्न सफल भयो ।

क्यासेमिरोले दुई पटक गोल गरेपनि मान्यता पाउन सकेन । उनको पहिलो गोलमा डिन हेन्डरसनलाई फाउल तथा दोस्रो गोलमा अफसाइड देखिएको थियो ।

यस नतिजासँगै युनाइटेड अर्को सिजनको युरोपेली फुटबलमा नहुने सम्भावना छ । युरोपा कन्फरेन्स लिगमा स्थान सुरक्षित गर्नका लागि प्रिमियर लिगमा सातौं स्थानमा पुग्नुपर्छ वा युरोपा लिगमा स्थान बनाउन एफए कपको फाइनलमा म्यानचेस्टर सिटीलाई हराउनुपर्छ ।

युनाइटेड ३५ खेलबाट ५४ अंक जोडेर आठौं स्थानमा छ । क्रिस्टल प्यालेस ३६ खेलबाट ४३ अंक जोडेर १४औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *