म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो ।

लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे ।

युनाइटेडले ३८ खेलमा १८ ओटा खेल मात्र जित्यो भने ६ बराबरी खेल्दै १४ खेलमा हार बेहोर्न । सातौं स्थानमा रहेको न्यूक्यासल युनाइटेड सँग ६० अंकमा बराबरी भएपनि खराब गोलअन्तरका आधारमा युनाइटेड आठौं भयो ।

छैठौं वा सातौं स्थानमा पुग्दा युनाइटेडका लागि क्रमशः युरोपा लिग वा युरोपा कन्फरेन्स लिगमा स्थान पक्का हुने थियो । यद्यपि, युनाइटेड भन्दा माथिका दुई टोली चेल्सी र न्युक्यासल – दुवैले अन्तिम चरणमा अन्यत्र आ-आफ्ना खेल जितेका थिए ।

च्याम्पियन्स लिगमा समूह चरणबाट नै बाहिरिएको युनाइटेडको यस सिजन उपाधिको सम्भावना भने कायम नै रहेको छ । युनाइटेडले एफए कप फाइनलमा लिग उपाधि जितेको म्यानचेस्टर सिटीको सामना गर्दैछ । सो खेलमा जित हासिल गरे युनाइटेड युरोपा लिगमा छनोट हुनेछ । अन्यथा युनाइटेडले आउँदो सिजन कुनै युरोपेली प्रतियोगितामा भाग जनाउने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *