क्रिस्टियानो रोनाल्डोको टिम अल नासर साउदी किङ कप फुटबलको फाइनल प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनल खेलमा नासरले अल खालिजमाथि ३-१ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । यससँगै प्रतियोगितामा फाइनल समीकरण तय भएको छ । अघिल्लो दिन नै अल हिलालले अल इत्तिहादलाई २-१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
अल हिलाल फाइनल पुगेको भोलिपल्ट अल नासर पनि फाइनल प्रवेश गर्न सफल भयो। अल अवाल रंगशालामा भएको सेमिफाइनल खेलमा अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने साडियो मानेले १ गोल गरे।
रोनाल्डोले १७औं मिनेटमा देब्रे खुट्टाले अपत्यारिलो भली गोल गरेर अग्रता दिलाएका थिए । दोस्रो गोल ३७औं मिनेटमा साडियो मोनले पेनाल्टीमार्फत गरे । यसपटक रोनाल्डोले पेनाल्टी आफैंले प्रहार नगरी मानेलाई छाडिदिएका थिए, जसमा मानेले गल्ती नगरी गोल गरे ।
त्यसपछि ५७औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेर खेल ३-० बनाए । रोनाल्डोको २ वटै गोलमा याहाले पास मिलाएका थिए । ३ गोल गरेर खेल एकपक्षीय बनाएको नासरले ८२औं मिनेटमा गोल खायो । खालिजका लागि फवाज अल टोरायासले गोल गरेर अल नासरको जित ३-१ मा खुम्च्याइदिएका थिए ।
अब अल नासरले उपाधिका लागि साउदी क्लब अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा साउदी अरेबियन क्लब अल हिलालले साउदीकै क्लब अल शबाबलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
फाइनल खेल नेपाली समय अनुसार आउँदो शनिबार राति ११:४५ बाट शुरू हुनेछ ।
