राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ । मिसन- २०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए ।

मिसन-२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार लाजिम्पाटमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले दोस्रो चरणमा पनि पाँच खेल थप गरिएको घोषणा गर्नुभयो ।

थप गरिएका खेलहरूमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा समान १२/१२ खेलाडीले स्थान पाएका छन् ।

भारोत्तोलन र कुस्तीमा पाँच पाँच तथा एथलेटिक्समा चार चार पुरुष/महिला खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा रहेका छन् ।

जापानमा हुने २०औं एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० साल माघ १५ देखि मिसन – ०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो । एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो ।

उत्प्रेरणा कार्यक्रम नायक राजेश हमालको उपस्थितिमा भएको हो । कार्यक्रममा नायक हमालले विगतको कमीकमजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिष्कृत गर्नु पर्ने बताउँदै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो । डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङ सम्बन्धी विविध पक्ष बारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *