महावीर क्लबविरुद्ध ४-० को फराकिलो जित निकाल्दै बागमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बागमतीलाई जित दिलाउन राज भुसालले दुई तथा दीपेश राई र सिर्जनराज गौतमले समान एक गोल गरे ।

जितसँगै बागमतीले ९ खेलमा २० अंक जोडेको छ । पराजित महावीर समान खेलबाट ९ अंकका साथ ११औं स्थानमा छ ।

खेलको ३५औं मिनेटमा दुवै टोली १० खेलाडीमा समेटिए । एक अर्कासँग झगडा गरेपछि रेफ्री प्रतिक घिमिरले बागमतीका अविषेक वाइबा लामा र महावीरका सुरज थारुलाई सीधै रातो कार्ड देखाए ।

पहिलो हाफको इन्जुरी समयमा दीपेशले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । ५३औं मिनेटमा सिर्जनले टोलीको अग्रता दोब्बर बनाए ।

तीन मिनेटपछि नै राजले टोलीका लागि तेस्रो गोल गरे । ५७औं मिनेटमा राजले ब्यक्तिगत दोस्रो गोल गर्दै बागमतीलाई ४-० को फराकिलो जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *