नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भिआर बैंक कपमा यु-१४ तर्फको उपाधि जितेको छ ।

मंगलबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्स च्याम्पियन बनेको हो ।

प्रतियोगितामा १३ खेल खेलेको किकर्सले ९ जित र चार बराबरीको नतिजा निकाल्दै ३१ अंक जोड्यो । किकर्सको समूहमा जर्मनीको विभिन्न एकेडेमीका ९ टोली थिए ।

किकर्सले आफ्नो अन्तिम खेलमा एसभी सिलेन्बाकलाई २-० ले पराजित गर्यो । टोलीलाई जित दिलाउन दुवै गोल आर्यवीर सिंहले गरे ।

प्रतियोगिता भर आठ गोल गर्दै आर्यवीर आफ्नो समूहमा उच्च गोलकर्ता समेत बने ।

नेपाली टोलीलाई जर्मनीको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी एवं बुन्डेस लिगा क्लब स्टुटगार्टका पूर्वकप्तान थोमस हिल्सपर्गरले पुरस्कार वितरण गरेका थिए । विश्वकप समेत खेलिसकेका हिल्सपर्गरले नेपाली खेलाडीहरुसँग केही समय विताएका थिए ।

तीन दिनसम्म सञ्चालन भएको यस प्रतियोगिताबाट नेपाली खेलाडीहरुले महत्वपूर्ण अनुभव लिने अवसर पाएको किकर्सका अध्यक्ष नविन पाण्डेले बताए ।

‘हाम्रो उदेश्य नेपाली खेलाडीहरुलाई पनि जर्मनीको जस्तो विकसित फुटबल सस्कृतिको अनुभव गराऔं, उनीहरुलाई पनि यो स्तरको फुटबल खेल्ने अवसर दिऔं भन्ने हो,’ अध्यक्ष पाण्डेले भने, ‘मलाई विश्वास छ की नेपाली खेलाडीहरुले जर्मनीको यो प्रतियोगिताबाट त्यो अवसर पाएका छन् । हाम्रो यो उदेश्यलाई साथ दिने खेलाडीका अभिभावक र सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु ।’

मोम्मेन्डोर्फ फुटबल क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको यस प्रतियोगिताको यो ५५औं संस्करण हो । प्रतियोगितामा विभिन्न उमेर समूहमा ७६ टोलीका १२ सयभन्दा बढी खेलाडीले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *