सुर्खेत । प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर (सुर्खेत) मा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् ।

त्यसैगरी एपीएफकी पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी प्रथम भएकी हुन् । पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरी दोस्रो र तेस्रो भए ।

त्यस्तै महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे १ घण्टा ३२ मिनेट ४३ सेकेन्ड तथा जुम्लाकी राज्य रावलले १ घण्टा ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पुरा गरी दोस्रो र तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमशः जनही ५५ हजार, ३० हजार र २० हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत भए ।

हाफ म्याराथन ४५ बर्ष माथि उमेर समुहमा काठमाडौंका धर्म महर्जन एक घण्टा २२ मिनेट, काठमाडौंकै रेवत दाहाल १ घण्टा २५ मिनेट ७ सेकेन्ड र बुटवलका गंगाबहादुर पुनले १ घण्टा ४८ मिनेट २ सेकेन्डमा दुरी पुरा गरी पहिलो, दोस्रो र तेस्रो भए । शीर्ष तीन जलाई क्रमश १५ हजार, १० हजार र ५ हजार नगदबाट पुरस्कृत गरियो ।

विद्यालयस्तरी पाँच किलोमिटर छात्रतर्फ सुर्खेतका अजय विक, सुर्खेतकै रमेश बुढा र मुगुका नमराज बानिया तथा छात्रातर्फ सुर्खेतका बिमला कार्की, सुर्खेतकै पुर्णिमा बुढाक्षेत्री र कालिकोटकी लक्ष्मी शाही क्रमश पहिलो दोस्रो र तेस्रो भए ।

विद्यालय स्तरीय दौडका शीर्ष तीनलाई जनही दश हजार, सात हजार र पाँच हजार नगदले पुरस्कृत गरियो । पाँच किलोमिटर दौडमा एसओएस हर्मन माइनर विद्यालयका साढे आठ बर्षका बालक प्रेम बस्नेतले समेत दौड पुरा गरेका थिए । उनलाई आयोजकले दुई हजार नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव बिश्वमित्र सन्ज्याल, वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, विश्व कीर्तिमानधी धावक हरिबहादुर रोकाय, डा. नवराज केसी, कर्मचारी युनियनका अध्यक्ष बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।

स्थानीय घण्टाघर चोकबाट सुरु भएको दौड कालिन्चोक खजुरा हुँदै राजमार्गको बाटोमा धुलियाबिट पुगेर त्यहाँबाट सिर्ध बांगेसिमल चोक पुगी पुनः सोही रुटबाट मंगलगढी चोक हुँदै वीरेन्द्र चोकबाट सभागृह गेट हुँदै घण्टाघर पुगेपछि हाफ म्याराथन पुरा भएको थियो । बरिष्ठ वाद्यवाधक प्रेमदेव गिरीको मादलको तालमा मुख्यमन्त्रीले झ्याली बजाएर प्रथम कर्णाली हाफ म्याराथन उदघाटन गरिएको थियो।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग, रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्न टाइटल स्पोन्सर रहेको छ भने वीरेन्द्रनगर नगरपालिका मुख्य साझेदार रहेको छ ।

साथै, कर्णाली हाफ म्याराथनमा सहकार्य गर्ने अन्य संघसंस्थामा कर्णाली केयर इन्टरनेशनल हस्पिटल, रेडपान्डा, हस्पिटालिटी पार्टनर होटल शुभ र सिद्धार्थ, आइएसपी पार्टनर भायनेट, नेपाली सेना, नेपाल प्रहरी, सोसल मिडिया पार्टनर मोटे ग्याङ तथा विभिन्न विद्यालयहरुप्रति आभारी रहेको भन्दै म्याराथनको समाचार प्रकाशन तथा प्रसारण गरेर महत्वपूर्ण सहयोग पुर्याउने सम्पूर्ण सञ्चारकर्मीलाई आयोजकले धन्यवाद दिएको छ ।

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनका प्रमुख अतिथी माननीय मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, प्रदेश खेलकुद् परिषद् उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव विश्वमित्र सञ्याल, किर्तिमानी धावक हरिबहादुर रोकाय, वरिष्ठ बाद्यवादक प्रेमदेव गिरीलगायत खेलप्रेमी सुर्खेतबासीप्रति हार्दिक आभार प्रकट समेत प्रकट गरिएको छ ।

त्यस्तै आसन्न दशौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी प्रथम ज्ञान कर्णाली हाफ म्याराथन आयोजना गरिएको र हरेक वर्ष उपयुक्त समयमा दोस्रो संस्करण गरिनेछ । र, हरेक बर्ष निरन्तरता र स्तरोन्नति गरिने आयोजकले जनाएको छ ।

विगत नौ वर्षदेखि नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत कर्णाली हाफ म्याराथन यात्रा आरम्भ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *