इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता एफए कपमा आज यस सिजनको फाइनल खेल हुँदैछ, जहाँ उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्दैछन् ।

सिजनको अन्तिम प्रतियोगितामा म्यानचेस्टर सहरका दुई कट्टर प्रतिस्पर्धी आज उपाधिका लागि एकअर्काविरुद्ध उत्रिंदा फाइनल खेल रोमाञ्चक र हेर्न लायक हुनेमा शंका छैन । यो खेलपछि इंग्ल्यान्डमा यस सिजनका सबैखाले क्लब फुटबल प्रतियोगिता सकिनेछन् । र, नयाँ सिजनको प्रतीक्षा हुनेछ ।

आज हुने एफए कपको फाइनल खेल लन्डनस्थित वेम्बली रंगशालामा नेपाली समय अनुसार राति ठीक ७:४५ बजेबाट सुरु हुनेछ । प्रिमियर लिगका दुई ठूला प्रतिस्पर्धी टिम आज उपाधिका लागि प्रतिस्पर्धा गर्दा प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी प्रमुख दाबेदार रहनेछ ।

युनाइटेड भने पछिल्ला ४२ वर्षको इतिहासमै पहिलोपटक टप-७ भन्दा मुनि रहेर सिजन पूरा गरेको छ । यो भनेको युनाइटेडका लागि खराब स्थिति हो । डच प्रशिक्षक इरिक टेन ह्यागको नेतृत्वमा खराब सिजन बितारहेको युनाइटेडसामु आजको फाइनल खेल जितेर सिजनको एक मात्रै उपाधि जित्ने अवसर छ ।

टेन ह्याग आज कुनै पनि हालतमा म्यानचेस्टर सिटीलाई पराजित गरेर यो सिजनलाई बचाउन मात्रै चाहँदैनन्, सिजनभरि आफूले भोगेको आलोचनाको जवाफ उपाधि जितेर दिन चाहन्छन् । विभिन्न रिपोर्ट अनुसार आजको खेलपछि युनाइटेडले टेन ह्यागलाई पदबाट बर्खास्त गर्ने तयारी गरेको हुँदा टेन ह्याग आफ्नो इज्जतका लागि पनि आजको फाइनल जितेर उपाधिका साथ युनाइटेडबाट बिदा हुन चाहन्छन् । यसकारण आजको फाइनलमा युनाइटेडले सिटीविरुद्ध ‘गर कि मर’ को स्थितिबाट खेल्ने पक्का छ । यो कुरा सिटीका लागि खतरापूर्ण हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *