इङ्गल्याण्ड ‘सी’ टोलीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज राती बेलायत प्रस्थान गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईका अनुसार नेपाली टोली मंगलबार राति २ बजे बेलायत प्रस्थान गर्ने भएको हो ।

यसअघि एन्फाले मंगलबार बिहान ९:३० बजे, दिउँसो १ बजे र साँझ ७ बजे गरि तीन फरक फ्लाइटमा नेपाली टोलीलाई बेलायत पठाउने तयारी गरेको थियो । तर मंगलबार बिहानसम्म पनि टोलीको भिसा नआएपछि आजको लागि तय भएको तीन फरक समयको फ्लाइट भने स्थगित भएको छ ।

अब एन्फा नेपाली टोलीका २३ खेलाडी र सम्बन्धित पदाधिकारीहरुलाई फरक फरक समयमा गरेर भएपनि भोलि (बुधबार) सम्ममा बेलायत उडाईसक्ने तयारीमा जुटेको महासचिव किरणले बताए । उनका अनुसार आज राति २ बजे नेपाली टोलीका १० जना खेलाडी बेलायत प्रस्थान गर्नेछन् ।

‘हामीले सकेसम्म टोलीका सबै खेलाडी तथा सम्बन्धित पदाधिकारीहरुलाई एकै समयको फ्लाइटमार्फत बेलायत पठाउन खोजेका थियौं, तर भिसामा आएको समस्याका कारण त्यो सम्भव भएन, अब १० सदस्यीय खेलाडी पहिलो टोलीको रुपमा आज राति २ बजे बेलायत उड्ने छ, महासचिव किरण भने, ‘त्यसपछि बाँकी रहेका १३ खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई पनि फरक फरक समयको फ्लाइटमा बेलायन पठाउनेछौं, नेपाली टोलीसँग बेलायत जाने तयारीमा रहेका सबैजना भोलि बुधबारसम्ममा त्यसतर्फ प्रस्थान गरिसक्ने छन्।’

एन्फाले नेपालस्थित बेलायती दूतावाससँग ३५ जनाको भिसा व्यवस्थापनको लागि आग्रह गरेको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक इङ्‌ल्याण्ड ‘सी’ टोलीसँगै मैत्रीपूर्ण खेलका लागि बेलायत जान लागेको हो । नेपालले मैत्रीपूर्ण खेल खेल्ने इङ्गल्याण्डको ‘सी’ टोली अल्डरसट टाउन एफसी राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो ।

नेपालले अल्डरसटको आफ्नै स्टेडियम इबीबीमा मे ६ तारिख अर्थात् वैशाख २४ गते दुई मैत्रीपूर्ण खेल खेल्ने छ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले एन्फा र इङ्गल्याण्ड फुटबल एसोसिएसनसँग यसअघि नै सम्झौता गरिसकेको छ।

नेपाली टोली:

गोलकिपर : किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर : छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा,
भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु

फरवार्ड : दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *