एन्फा महिला लिग छनोटमा गण्डकी प्रदेशले दोस्रो जित दर्ता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३-० ले पराजित गरेको छ ।
जितसँगै पाँच खेलमा ६ अंक जोडेको गण्डकी पाँचौं स्थानमा उक्लिएको छ । लगातार पाँचौं हार ब्यहोरेको बागमती अंकविहिन छ ।
गण्डकीलाई जित दिलाउन पूर्णिमा थापा, संगीता विक र सुक्रिया मियाले गोल गरे । तीनै गोल अन्तिम १० मिनेटमा भएको थियो ।

खेलको ७९औं मिनेटमा पूर्णिमाको गोलमार्फत गण्डकीले अग्रता लियो । पाँच मिनेटपछि नै संगीताले टोली अग्रता दोब्बर बनाइन् ।
निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सुक्रियाले गोल गर्दै गण्डकीलाई ३-० को सहज जित दिलाइन् ।
