गण्डकीलाई हराउँदै आर्मीलाई उपाधि

२०८१, १८ बैशाख मंगलवार १४:००

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धुलिखेल खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा गण्डकी प्रदेशलाई ४-१ गोल अन्तरले हराउँदै आर्मी उपाधि जित्न सफल भएको हो ।

आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन् । यस्तै, आर्मीकै सीमा खड्का र कमला चन्दले १/१ गोल गरिन् । गण्डकीका सीता माया बलले एक गोल फर्काइन् ।

खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । तर, १६औं मिनेटमा सीताले गोल गर्दै गण्डकीलाई खेलमा फर्काइन् । १८औं मिनेटमा सरस्वतीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २-१ गोलको अग्रता दिलाइन् ।

२४औं मिनेटमा कमलाले गोल गर्दै आर्मीको अग्रता ३-१ मा पुऱ्याइन् । ५७औं मिनेटमा सीमाले गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भइन् ।

फाइनल खेलको प्लेअर अफ द म्याच कमला चन्द चुनिन् । उपाधिसँगै आर्मीले १ लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो हुने गण्डकीले ७५ हजारमा चित्त बुझायो ।

सुदूरपश्चिम तेस्रो

मधेसलाई १-० गोल अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान हासिल गरेको छ। खेलको २७औं मिनेटमा बबिता उराउले गरेको गोल नै मधेशका लागि निर्णायक बन्यो।

प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती बेस्ट स्कोरर हुन सफल भइन् । इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकि नमिता एसके चुनिइन् । बेस्ट गोलकिपरमा गण्डकीकी गोमा परियार, बेस्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै निलिमा पाण्डे प्लेअर अफ द टुर्नामेन्ट चुनिन्। उनीहरूले १०/१० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा नेपाल आर्मी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *