नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जारी जय ट्रफी मेन्स एलिट कपमा आज दुई खेल हुँदैछन् ।
जनपुरस्थित रामजानकी मैदानमा आर्मीले बागमती प्रदेशको सामना गर्दैछ । खेल विहान ९ बजे सुरु हुनेछ । यसैगरी वीरगन्जको नारायणी क्रिकेट मैदानमा पुलिस र मधेश प्रदेश आमने सामने हुनेछन् । यो खेल पनि विहान ९ बजे सुरु हुनेछ ।
चारवटै टोली पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछन् । पहिलो खेलमा बागमती मधेश प्रदेश तथा आर्मी पुलिससँग बराबरीमा रोकिएका थिए ।
विनोद भण्डारीको कप्तामा रहेको आर्मीका लागि शाहब आलम मुख्य खेलाडीका रूपमा रहनेछन् । शाहबले पुलिसविरुद्ध पहिलो इनिङमा आठ र दोस्रो इनिङमा दुई गरि १० विकेट लिएका थिए ।

यता बागमतीका कप्तान सन्दीप लामिछाने आर्मीविरुद्ध घातक बन्न सक्छन् । उनले मधेशविरुद्ध दुवै इनिङमा समान पाँच गरि १० विकेट हात पारेका थिए ।

आरिफ शेखको कप्तानीमा रहेको पुलिसका लागि ललितनारायण राजवंशी मुख्य हतियारका रूपमा रहनेछन् । उनले आर्मीविरुद्ध पहिलो इनिङमा सात र दोस्रो इनिङमा दुई गरि ९ विकेट लिएका थिए ।

यसैगरी हरिशंकर साहको कप्तानीमा रहेको मधेशका लागि मायन यादव हेर्न लायक खेलाडीका रूपमा छन् । उनले पहिलो खेलमा बागमतीविरुद्ध एक शतकसहित १२६ रन प्रहार गरेका थिए ।

प्रतियोगितामा सहभागी चारवटै क्लबले एक-एक खेल खेलिसक्दा १५ अङ्कसहित बागमती प्रदेश पहिलो, समान अङ्क जोडेको मधेस प्रदेश दोस्रो र समान अङ्क हात पारेको पुलिस क्लब तेस्रो स्थानमा छन् । आर्मी क्लब भने १४ अङ्कसहित चौथो स्थानमा छ ।
दुई दिवसीय फर्म्याटमा खेलाईने खेलमा चार टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
