पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनलमा स्थान बनाएको छ ।

तीन दिनमा आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा हुने डब्लुटिसी फाइनलका लागि छनोट भएको छ । फाइनल पुग्ने अस्ट्रेलिया दोस्रो टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाले फाइनलमा प्रवेश गरिसकेको छ ।

१ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले तेस्रो दिनमै ४ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले सर्वाधिक ४१ रन जोडे ।

अष्ट्रेलियालाई जिताउन बेउ बेबस्टरले ३९ तथा ट्राभिस हेडले ३४ रनको नटआउट पारि खेले । यस्तै, उस्मान ख्वाजाले ४१ रन बनाउँदा साम कोनस्टासले २२ रन जोडे । मार्नस लावुसेन ६ तथा स्टेभन स्मिथ ४ रन बनाएर आउट भए ।

भारतका प्रसिद्ध कृष्णाले ३ तथा मोहमद सिराजले १ विकेट लिए ।

भारत पहिलो इनिङमा १ सय ८५ र दोस्रो इनिङमा १ सय ५७ रनमा समेटिएको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ८१ रन बनाएको थियो ।

प्लेयर अफ दी म्याच अष्ट्रेलियाका स्कट बोलान्ड भए । उनले पहिलो र दोस्रो पारिमा गरेर १० विकेट लिएका थिए । यसैगरी प्लेयर अफ दी सिरिज भने जसप्रित बुमराह बने । उनले प्रतियोगिताभर ४२ रन बनाउनुका साथै ३२ विकेट लिए । 

अस्ट्रेलियाले यो जितसँगै बोर्डर गावास्कर ट्रफी ३-१ ले आफ्नो पक्षमा पार्दै डब्लुटिसीको फाइनल पुगेको हो । हारपछि भारत डब्लुटिसीको फाइनल दौडबाट बाहिरिएको छ ।

पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *