झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ ।

नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । प्रतियोगितामा नेपाल र भारतका ८ टोली सहभागी हुने आज अर्जुनधाराको लंका रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा आयोजक क्लबसँगै दार्जिलिङको मानेभञ्ज्याङ, सिलिगुढीको कञ्चनजंघा एफसी, इलाम, मोरङ, सुनसरीका एकएकवटा, झापा र काठमाडौँका सहित आठ टिमको सहभागिता रहने क्लबका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेताले २ लाख २५ हजार र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

एलिस सप्लायर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्लेयर अफ द म्याचले ७ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छन् । पत्रकार सम्मेलनमा विजेता तथा उपविजेताको ट्रफी समेत अनावरण गरिएको छ ।

सातौँ संस्करणको प्रतियोगितामा दार्जिलिङको मानेभञ्ज्याङ एफसीले बिर्तामोड युनाइटेड क्लबलाई हराउँदै उपाधि जितेको थियो । बुद्धशान्ति गाँउपालिका, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३१ लाख रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्की लगायतले शुभकामना व्यक्त गरे । क्लबका अध्यक्ष पोखरेलको अध्यक्षतामा आयोजित पत्रकार सम्मलेनको सञ्चालन सचिव मुकेश भट्टराईले गरेका थिए ।

२०४२ सालमा स्थापना भएको उक्त क्लबले जयपुरमा खेलकुद, सांस्कृतिक, साहित्यको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । यसैबीच, अघिल्लो संस्करणबाट बचतमा रहेको २२ लाख रुपैयाँबाट क्लबको कार्यालय भवनको निर्माण सुरु गर्ने तयारी भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

Jhapa Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *