ताप्लेजुङको फु‌ङ्लिङमा जारी दोस्रो अन्तर्राष्ट्रिय कञ्चनजङ्गा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरान सुनसरी सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ ।

भानु माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेलमा कन्चनजङ्गा फुटबल क्लब सिलिगुढी भारतलाई २-० गोल अन्तरले पराजित गर्दै धरान सेमीफाइनलमा प्रवेश गरेको हो ।

धरानको जितमा दोर्जे तामाङ र मिलन राईले समान एक-एक गोल गरेका थिए ।

भारतीय टिमविरुद्ध दोर्जे तामाङले खेलको ४० औं मिनेटमा गोल गर्दै गोधुलीलाई अग्रता दिलाएका हुन् । त्यस्तै खेलको ७४ औं मिनेटमा मिलन राईले गरेको प्रहार गोलमा परिणत भएसँगै धरानले सेमिफाइनल यात्रा सुरक्षित गर्यो ।

खेलको म्यान अफ द म्याच धरानकै दोर्जे तामाङ भए । उनले नगद रु ५००० सहित मेडल प्राप्त गरे ।

खेलको इन्जुरी समयमा विवाद हुँदा दुवै टिमले एक एक खेलाडी गुमाउनु परेको थियो । रेफ्री विक्की कार्कीले धरानका कप्तान मिलन राई र सिलिगुढी भारतका गोल रक्षक प्रजल शर्मालाई रातो कार्ड देखाएका थिए । खेलमा गोल गर्ने केही सुन्दर अवसरहरू गुमाउँदा कन्चनजङ्गा एफसी खेलबाट बाहिरिएको हो ।

गोधुली फुटबल क्लब धरानले पहिलो सेमिफाइनल खेलमा सन्दु फुटबल क्लब तेह्रथुमको सामना गर्नेछ ।

प्रतियोगिताका विजेताले तीन लाख दुई हजार ८१ रुपैयाँ तथा उपविजेताले एक लाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन्।  मंगलबार प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेल न्यु स्टार फुटबल क्लब झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *