इलामको माङसेबुङमा सञ्चालन भएको आत्मानन्द गोल्डकप २०८१ को उपाधि दुधे युथ क्लब झापाले जितेको छ ।
माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा सोमबार भएको फाइनल खेलमा साविक विजेता तिजोक युवा क्लब पाँचथरलाई ३-१ को गोल अन्तरले हराउदै दुधे च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको २६औं मिनेटमा निकेश श्रेष्ठले गोल गर्दै दुधे झापालाई अग्रता दिलाए । उनले फ्रिकिक मार्फत गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको खेलमा ४६औं मिनेटमा निरज लिङदेनले गोल गर्दै तिजोक पाँचथरलाई बराबरीमा फर्काए ।
तर, खेलको ५५ औं मिनेटमा दुधेका मनिस लिम्बूले गोल गर्दै दुधेलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ६२ औं मिनेटमा राजेश दाहालले गोल गर्दै दुधेको जित सुनिश्चित गरे ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१ औं शुभ-जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा १७ औं आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको थियो ।
मंसिर ९ बाट सुरु भएको प्रतियोगिताको विजेता दुधेले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता बनेको तिजोकले नगद दुई लाख पाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
