विराटनगर किङ्गसले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि बिहीवारबाट विराटनगरमा बन्द प्रशिक्षण सुरु गरेको छ ।
सन्दिप लामिछाने मार्की रहेको विराटनगरले आज मोरङमा रहेको म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा अभ्यास सुरु गरेको हो । पहिलो चरणको बन्द प्रशिक्षण मंसिर ११ गते सम्म हुने बताइएको छ।
पहिलो चरणको बन्द प्रशिक्षणमा टोलीमा रहेका नेपाली खेलाडी सहभागी रहनेछन् । बन्द प्रशिक्षणमा कोशी प्रदेश को इलाम, उदयपुर , सुनसरी, झापा र मोरङ जिल्लामा ट्यालेन्ट हन्टमा सर्ट लिस्ट भएका खेलाडीहरुलाई पनि सहभागी गराइने छ ।
मंसिर १२ गतेदेखि टोलीले लिगको अन्तिम तयारी काठमाडौंबाट गर्नेछ । विराटनगरले बुधवार टोलीको जर्सी तथा एन्थम सार्वजनिक गरेको थियो ।
विराटनगरका मुख्य प्रशिक्षकमा आयरल्यान्डका पुर्व क्रिकेटर केभिन ओ ब्राइन रहेका छन् । टोलीको सहायक प्रशिक्षकमा लाक्पा लामा र व्यवस्थापकमा विजय कुमार धिताल छन् । टोलीको निर्देशकमा दीपेन्द्र चौधरी रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।
विराटनगर किङ्स टोली:
सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम
