आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेदरल्याण्ड्समाथि जित हासिल गरेको छ ।

ओमानमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा आइतवार भएको खेलमा युएईले नेदरल्याण्ड्समाथि २६ रनको जित हात पार्यो ।

युएईले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४७.४ ओभरमा अल आउट हुदै २ सय १४ रन बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस र बास डि लिडेले अर्धशतक बनाए । लिडेले ८६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६६ तथा कप्तान एडवार्डसले ५७ बलमा ५१ रन बनाए ।

टिम भान डर गुग्टेनले २३ बलमा २२, शरिज अहमदले १७ तथा म्याक्स ओ डाउडले १५ रन बनाए । युएईका लागि अलि नासिरले ४ तथा जुनैद सिद्धिकीले ३ विकेट लिए ।

त्यसअघि ओमानको मस्कटमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । युएईका लागि कप्तान राहुल चोपरा र धुव्र परासरले अर्धशतक बनाए । चोपराले ६७ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ७८ तथा परासरले ४८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडेका थिए ।

ओपनर तनिश सुरीले ३९ बलमा २५, मोहम्मद वासिम र वृत्य अरविन्दले समान १८, विष्नु सुकुमारनले ५० बलमा १९ तथा राहुल भाटीयाले नट आउट ८ रन बनाएका थिए ।

नेदरल्याण्ड्सका लागि पल भान मिकरेन र रोलेफ भान डर मिर्वले समान २ तथा टिम भान डर गुग्टेन, आर्यन दत्त, बास डि लिडे र शरिज अहमदले समान १ विकेट लिए ।

लिग-२ को नवौं खेलमा दोस्रो जित हात पारेको युएई ४ अंकका साथ तालिकाको पुछारमा छ । समान खेलमा १२ अंक बनाएको नेदरल्याण्ड्स चौथो स्थानमा छ ।

नेपाल भने ११ खेलमा २ जितका साथ पुछारबाट दोस्रो स्थानमा छ । लिग टु अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा सोमवार नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *