सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेटमा जीत हासिल गरेका छन् ।
आइतबार भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पाँच विकेट तथा गण्डकी प्रदेशले कर्णली प्रदेशलाई दुई विकेटले पराजित गरेको हो ।
जितपछी सुदूरपश्चिम लिग चरणको एक खेल अगावै फाइनलमा पुग्न सफल भएको छ । सुदूरपश्चिमले अब उपाधिका लागि बुधबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमले लिग चरणको अन्तिम खेल भने कोसी प्रदेशसँग खेल्ने छ ।
विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर १२९ रन बनायो ।
वाग्मतीका लागि रोशन विश्वकर्माले अविजित ५६ रन बनाए । यस्तै उत्तम मगरले २६ तथा सार्थक धितालले ११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिम युवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए । उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
एक सय ३० रनको विजयी लक्ष्य सुदूरपश्चिमले २८.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका लागि प्रकाश पाण्डेले अविजित ५२ रन बनाए । यस्तै, नरेन भट्टले ३८, अभिषेक थापाले १४ तथा दिपक रोकायाले अविजित १२ रनको योगदान दिए ।
बलिङतर्फ वाग्मतीका दिपक सेरलाले दुई विकेट लिए ।
आजै बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई दुई विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८.१ ओभरमा बलमा सबै विकेट गुमाएर १०१ को योगफल बनायो ।
एक सय दुई रनको लक्ष्य गण्डकीले २६.१ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । गण्डकीले सवै ६ खेल खेल्दा तीनमा जित हात पार्दै प्रतियोतिाबाट बाहिरिएको छ । कर्णाली पनि हालसम्म खेलेका पाँचवटै खेलमा पराजित भई प्रतियोतिाबाट बाहिरिएको छ।
सोमबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेस प्रदेशबीच तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोसी र सुदूरपश्चिम प्रदेशबीच खेल हुने छ ।
