जापानको टोकियोस्थित योकोहा सहरमा अक्टोबर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउँलु विश्वकप २०२४ मा सहभागी उसु खेलाडी टोलीलाई विशेष समारोहबीच बिदाइ गरिएको छ ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै खेलाडीलाई बिदाइ गरेका हुन् ।

मन्त्री महर्जनले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय र खेलकुद विकास परिषद् उसु खेलको समग्र विकासमा सधैं सहयोग गर्न तत्पर रहेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागितालाई महत्त्वपूर्ण मानेका छन् । उनले उसु महासङ्घलाई खेलकुद विकासमा योगदान दिएकोमा धन्यवाद पनि दिएका थिए ।

यस प्रतियोगितामा नेपालबाट दीपक हमाल, विजय सिञ्जाली, निमा घर्ती मगर, पासाङ शेर्पा, र राजीव तामाङ खेलाडीको रूपमा सहभागी हुँदैछन् । टोलीको नेतृत्व उसु महासङ्घका महासचिव ल्हाक्पा छिरिङ लामाले गर्नेछन् भने अन्तर्राष्ट्रिय कोच निकेश श्रेष्ठले टोलीलाई प्रशिक्षण दिनेछन् ।

विश्वकपमा सहभागी हुन छानिएका यी खेलाडीहरू २०२४ अप्रिलमा चीनमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगितामा प्रदर्शन गरेका थिए । एसियाली राष्ट्रहरूबाट मात्र नेपालले यो प्रतियोगितामा सहभागी हुने अवसर पाएको पनि महासचिव लामाले जानकारी दिए ।

बिदाइ कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचन, राष्ट्रिय खेलकुद परिषद्का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट, उपनिर्देशक एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले खेलाडीहरूलाई सफलताको शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *