भारतलाई ९ रनले हराउँदै अस्ट्रेलिया आइसिसी महिला द्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ६ पटक विश्वकप उपाधि जितिसकेको अस्ट्रेलियाविरुद्ध भारतले दबाब बनाएपनि अन्तिममा हार बेहोर्न परेको थियो ।
भारत हालसम्म विश्वकप जित्न सकेको छैन । इङ्ल्यान्ड र वेष्ट इन्डिजले समान एक पटक विश्वकप जितेका छन् ।
यो हारपछि भारतको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । चार खेल मध्ये भारत मात्र २ जित निकाल्न सफल भयो । समूह ‘ए’ मा अस्ट्रेलियाले लगातार जित निकाल्दै चार खेलबाट ८ अंक जोड्यो ।
अब, भारत सेमिफाइनल प्रवेश गर्न अन्य खेलको भर पर्नुपर्ने हुन्छ । पाकिस्तान न्युजिल्यान्डविरुद्ध ठूलो अन्तरले पराजित भएमात्रै भारतको भाग्य खुल्नेछ । यदि न्युजिल्यान्ड विजयी भएमा भारतको सम्भावना सकिनेछ ।
आइतबार राति शारजाहमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको थियो । उसले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रनको लक्ष्य दिएको थियो ।
ओपनर ग्रेस ह्यारिसले ४१ बलमा सर्बाधिक ४० रन बनाइन् । कप्तान ताहलिया म्याकग्रथ र इल्सी पेरीले समान ३२ रन बनाएका थिए । भारतका रेनुका सिंह र दिप्ती शर्माले समान दुई विकेट लिए ।
प्रत्युत्तरमा भारतले ९ विकेट गुमाउँदा १ सय ४२ रन मात्र बनायो । कप्तान हरमनप्रित कौरले ४७ बलमा सर्वाधिक ५४ रन बनाएपछि टोली जितबाट टाढा रह्यो । अस्ट्रेलियाका एनाबेल सदरल्यान्ड र सोफी मोलेनिक्सले समान दुई विकेट हात पारे ।
