पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा फ्रेन्चाइजको स्वामित्व आफूलाई दिनुपर्ने गरेको छ ।

नेपाल द्वान्टी-२० क्रिकेट प्रालीले आइतबार पत्राकार सम्मेलनमार्फत पोखराको स्वामित्व आफूले पाउनुपर्ने माग गर्यो । कम्पनीको स्वामित्वमा रहेको पोखरा एभेन्जर्सले दुई वर्ष अगाडि सम्पन्न नेपाल द्वान्टी-२० लिगमा प्रतिस्पर्धा गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन श्री स्पोर्टसँग मिलेर नेपाल द्वान्टी-२० लिग सुरुआत गरेको थियो । तर, म्याच फिक्सिङलगायतका कुरा बाहिर आएपछि प्रतियोगिता नसकिँदै सेभेन थ्री स्पोर्टस सम्पर्कविहीन भएको थियो ।

सेभने थ्री स्पोर्टस सम्पर्कविहिन भएपछि सम्पूर्ण सम्झौता रद्द गर्दै क्यानले नै उक्त संस्करण पूरा गरेको थियो। अहिले क्यानले नै एनपिएल आयोजना गर्दै छ ।

पोखरा एभेन्जर्सका मालिक सुवोध त्रिपाठीले आफू अन्य फ्रेन्चाइजले जती नै शुल्क तिर्न तयार रहेको तर प्रतिस्पर्धा नगरीकन पोखराको टोली दिनुपर्ने बताएका छन् ।

‘हामी एनपिएलमा तोकिएको फ्रेन्चाइज शुल्क तिर्नेलगायतका सम्पूर्ण सर्त मान्न तयार छौं । तर प्रतिस्पर्धा नगरी पोखराको दिनुपर्छ भन्ने हाम्रो माग हो,’ त्रिपाठीले भने ।

यसैगरी त्रिपाठीले अन्यले पोखराको फ्रेन्चाइज टोली प्राप्त गर्दा कम्पनीलाई करोडौंको नोक्सन हुने बताए ।

‘हामीले नेपाल प्रियिमर लिगको विरोध गरेका हैनौं । तर पोखराको फ्रेन्चाइज अरुले प्राप्त गर्दा करोडौंको घाटा हुने भएकाले त्यो चाहिन्छ भनेका मात्र हौं । हामीले नेपाल द्वान्टी-२० लिगमा ४ करोडभन्दा बढि लगानी गरिसकेका छौं । छुट्टै फ्यान फलोइङ भइसकेको छ । प्रतिस्पर्धामा जाँदा पोखराकै टिम पाउँछौं भन्ने ग्यारेन्टी छैन । अरु टिम पाए शुन्यबाट सुरु गर्नुपर्ने हुन्छ । जसले गर्दा हामीलाई पैसा मात्र नभएर धेरै कुराको घाटा हुन्छ,’ त्रिपाठीले थपे ।

आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने एनपिएलमा आठ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन् । यस पटक लिगमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले प्रतिस्पर्धा छन् ।

यी टोली किन्नका लागि १६ वटा कम्पनीले चासो देखाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *