ललित स्मृति एन्फा यु-१८ युथ लिगको छैटौं खेलमा आएर मछिन्द्र फुटबल क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार मछिन्द्र न्युरोड टिम (एनआरटी) सँग ३-० ले पराजित भयो ।

पहिलो पराजयसँगै मछिन्द्रले ६ खेलमा ११ अंकका साथ चौथो स्थानमा झरेको छ । मछिन्द्रले अघिल्ला पाँच खेलमा तीन जित र दुई बराबरीको नतिजा निकालेको थियो ।

यता चौथो जित निकालेको एनआरटी समान खेलबाट १३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । एनआरटीलाई जित दिलाउन रोहन मोक्तान, अंकित थापा र सन्तोष गोन्ग्बाले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा रोहनको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । उनले इशान थापाको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए ।

अकिंतले ७१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको इन्जुरी समयमा सन्तोयाले विनायक थारुको पासमा गोल गर्दै एनआरटीलाई सहज जित दिलाए ।

बुधबार नै सम्पन्न पहिलो खेलमा संकटा क्लबले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध २-१ को जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *