कोपा अमेरिका-२०२४ को दोस्रो सेमिफाइनलपछि उरुग्वेका फरवार्ड डार्विन नुनेज कोलम्बियन समर्थकसँग हात हालाहाल गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियासँग १-० ले पराजित भएपछि नुनेज कोलम्बियाका समर्थकसँग झगडामा उत्रिएका हुन् । सार्वजनिक भिडियोमा नुनेजले कोलम्बियाका समर्थकहरूमाथि मुक्का प्रहार गर्ने प्रयास गरिरहेको देखिन्छ । उरुग्वेको आउटलेट ‘एल पाइस’ का अनुसार यो घटना खेलाडीको परिवारका सदस्य र साथीहरू बस्ने क्षेत्र नजिकै भएको हो । नुनेजले यस घटनाबारे हालसम्म केही जानकारी सार्वजनिक गरेका छैनन् ।

भिडियोमा नुनेज प्याटापिटमा आक्रामक रूपमा समर्थकमाझ अघि बढिरहेको देखिन्छ । उनी कोलम्बियाका समर्थकलाई पिट्न झम्टिँदा केहीले भने नुनेजलाई रोक्ने प्रयास गरिरहेको देखिन्छ । उरुग्वेका कप्तान होसे मारिया खिमेनेले भने नुनेज आफ्नो परिवारको रक्षामा उत्रिएको बताएका छन् । उनले समर्थकको उक्त अवस्थालाई ‘विपत्ति’ को अवस्था भएको बताएका छन् । “त्यहाँ कुनै प्रहरी थिएनन् र हामीले आफ्नो परिवारको रक्षा गर्नुपर्ने अवस्था थियो । यो त्यहाँ भएका दुई-तीन जना व्यक्तिको गल्ती हो । जसले धेरै पिएका थिए र उनीहरूलाई कसरी पिउने भन्नेसमेत थाहा थिएन,” कप्तान खिमेनेले भने ।

समर्थकसँगको झगडापछि नुनेजले मैदानमा आफ्नो छोरोलाई अंगालो हालेको देखिएको थियो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) ले ‘फुटबललाई असर गर्ने कुनै पनि हिंसात्मक कार्यको कडा निन्दा गर्ने’ बताएको छ । “मैदानभित्र र बाहिर असहिष्णुता र हिंसाको लागि कुनै स्थान छैन,” कन्मेबोलले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *