एन्फा यू-१८ युथ लिग २०२४ असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने भएको छ ।
युथ फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक-पटक छलफलपछि भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले प्रतियोगिताको सहभागिता, मिति र अन्य पक्षमा सहमति जुटाउन क्लबहरूसँग बैठक गर्दै आएको थियो । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छ ।

जसमा एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्गदी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको युथ टोली रहेका छन् ।
लिगका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन् । सहभागी क्लबले डबल राउण्ड रोबिन ढाँचामा एकअर्कासँग खेल्नेछन्।
