पहिलो संस्करणको वीर गणेशमान सिंह टि-२० क्रिकेटको उपाधि लुम्बनी प्रदेशले जितेको छ। सोमबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो।

लुम्बिनलीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमा अलआउट भयो।

कर्णालीका विपिन शाहीले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ र विपिन रावलले ३१ बलमा १ चौकासहित २३ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका स्पिनर अभिषेक गौतमले ३.३ ओभरमा १० रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै, नर सार्कीले २ ओभरमा ७ रन खर्चेर २, देव खनाल र निर्मल गुरुङले समान १ विकेट लिए।

पहिला ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। उसका लागि मिर्नल गुरुङले ३० बलमा ३ चौकासहित २७, विराट भण्डारी २३ बलमा २ चौकासहित २६ र कृष्ण कार्कीले २२ रनको योगदान दिए।

बलिङमा कर्णाली प्रदेशका युनिस ठकुरीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदा दीवान पुन र दीनेश अधिकारीले समान २ विकेट लिए।

७ प्रदेश सहभागी राउण्ड रोविनको आधारमा प्रतियोगितामा शीर्ष दुईमा रहँदै लुम्बिनी र कर्णाली फाइनल पुगेका हुन्। लिगमा दुवैले समान ४ अंक जोडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *